काठमाडौं । पूर्व–पश्चिम राजमार्ग बन्दको उल्लंघन गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार दिउँसो चोहर्वामा तेल लोड भएको ट्यांकर तोडफोड गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले नरहा गाउँपालिका–३ चोहर्वा खण्डमा विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको ट्यांकर तोडफोड गरेका हुन् ।
प्रहरीले ट्यांकर तोडफोडसहित सवारीसाधनको आवागमनमा अवरोध पुर्याएको आरोपमा १९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार पक्राउ गरिएकाहरूलाई मिर्चैया, गोलबजार, धनगढी, लहानलगायतका प्रहरी इकाइमा राखिएको छ ।
राजमार्गमा जनमत पार्टीका कार्यकर्ताहरूले तेल लोड भएको टयांकरमा तोडफोड गर्न थालेपछि रोक्न खोज्दा जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी हबल्दार घाइते भएको उनले बताए । प्रदर्शनकारीले हानेको ढुंगाले खुट्टामा चोट लागेर घाइते भएका हबल्दारको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।