मंसिर २१ देखि आइपिओ जारी गर्दै बाराही हाइड्रोपावर

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ०२:४१ मा प्रकाशित

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २१ मंसिरदेखि आइपिओ निष्कासन गर्न लागेको हो ।


आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।


बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गरी ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसको ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।


निष्कासन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा ६ पुसमा हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ ।