मेयरको टिकट नपाएपछि झापाका एमाले नेताले रुँदै छाडे पार्टी

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०७:५२ मा प्रकाशित

झापा । झापाको मेची नगरपालिकाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी छाडेका छन् । सामाजिक सञ्जालमा रुँदै पार्टीबाट अलग्गिएको भिडियो पोष्ट गरेका हुन् । 

‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक ममाथि भएको अन्याय सहन सकिनँ । एउटैलाई थपिथपि जिम्मेवारी र अरुलाई औसरबाट बञ्चित गर्ने चरम गुटबन्दीका नाइकेहरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमाले छाडेको छु।’ उनले भिडियोमा भनेका छन् ।, 

उनले कसैलाई थोपरी थोपरी अवसर दिने तर, कसैलाई पर राख्ने स्थानीय नेतृत्वबाट भएको उल्लेख गरेका छन् । उनले आफु भोलिका दिनमा पनि समाजका लागि सक्रिय रहने र स्वतन्त्र वामपन्थीका रुपमा रहने बताए ।

काँकडभिट्टा निवासी घिमिरे एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नम्बर १ समन्वय कमिटीका संयोजक हुन् । उनलाई पार्टीले तत्कालीन काँकडभिट्टा गाविस अध्यक्ष बनाइसकेको छ ।