काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा सिफारिस गरेका छन् ।
आइतबार राति बसेको पार्टीको कार्यकारिणी समितिले विराटनगरको उपमेयरमा अमरेन्द्र यादव र वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ दलहरूको भागबण्डामा वीरगञ्ज महानगरपालिकाको मेयर तथा विराटनगर उपमहानगर पालिकाका उपमेयर जसपाको भागमा परेको छ ।
अमरेन्द्र जसपाको विराटनगर महानगर कमिटीका अध्यक्ष पनि हुन् । अमरेन्द्रलाई विराटनगर कमिटी अध्यक्ष बनाउन अध्यक्ष यादवले काठमाडौंबाटै भूमिका निभाएका थिए । यसअघि उनले छोरालाई तत्कालीन समाजवादी पार्टीको विदेश विभागको सदस्य बनाएका थिए ।
तत्कालीन केपी शर्मा ओलीको सरकारमा स्वास्थ्य मन्त्री भएको बेला उपेन्द्रले आफ्नो छोरा अमरेन्द्रलाई मन्त्रीको सचिवालयमा राखेका थिए ।