इटहरी आएर नेता पोख्रेलले भने, ‘जनतासँगको व्यवहार र अभिव्यक्तिमा पनि ध्यान दिनुपर्छ’

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०१:४८ मा प्रकाशित

इटहरी । एमाले नेता ईश्वर पोखरेलले आर्थिक गतिविधिका साथै आफ्नो व्यवहारलाई पनि ध्यान दिएर जिम्मेवारी बहन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।


आज इटहरीमा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिले देशभर नै सकारात्मक तरिकाले काम गरेको दाबी गरेका छन् । तर जनप्रतिनिधिले आफ्नो व्यवहार र स्वभावलाई समेत सच्याउनुपर्ने बताएका छन् ।


उनले चुनावमा टिकटको लागि दाबी गर्दै गर्दा जनताको मत र विचारलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘जनताले हामीलाई अडिट गर्छन्, हामी पब्लिक अडिटको सामु उभिनुपर्छ,’ उनले जनताको लागि सधैं तयार रहनपर्ने बताउँदै भने, ‘यस्तो अडिट पैसाको मात्र होइन, व्यवहार तथा अभिव्यक्तिका कुरासँग समेत सम्बन्धित हुन्छ ।’


उनले थपे जनताको स्वार्थभन्दा बढी कुनै सिद्धान्त र स्वार्थ नहुने बताउँदै जनताबाट विरोधहरु आएपनि व्यवहारले काट्नुपर्नेमा जोड दिए ।

उनले सबै जनप्रतिनिधिले सही तरिकाले काम नगरेको हुन सक्ने समेत बताए । कहि नियत बिग्रिएको हुनसक्ला, कहीं ढङ्ग नपुगेको हुनसक्ला, उनले भने, ‘तर एमालेका धेरैजसो जनप्रतिनिधिले राम्रो काम गर्नु भएको छ ।’


उनले राष्ट्रिय राजनीति जस्तो भएपनि इटहरीमा विकास निर्माणको कामलाई प्रभावित हुनु नदिएकोमा इटहरीका जनप्रतिनिधिको प्रसंसा समेत गरे ।

उनले अब आउने चुनावबाट नयाँ भवनमा हाँसेर सेवा दिने जनप्रतिनिधि भेट्न पाइयोस भन्ने कामना समेत गरे ।


उनले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेको बताउँदै देशलाई अहित अहित हुने र विदेशीको हातमा पार्ने कोशिस हरु को विरोध गर्नुपर्ने बताएका छन् । उनले वर्तमान गठबन्धन दोधारे राष्ट्रिय चरित्रका नेताले भरिएको बताउँदै यो नेपालको लागि दुर्भाग्य भएको बताए उनले सबै नेताले सुधार ल्याउनुपर्ने बताए ।


कार्यक्रममा बोल्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले आफूले हासपोसा गाविसको गाविस अध्यक्ष हुँदा छाता टागेर फलैचामा काम गरेको स्मरण गरे । ‘अहिले प्लाष्टिकको घरमा बसेर सेवा दिइरहेका छौं,’ उनले भने, ‘कति जनप्रतिनिधिले त नयाँ भवन फलामको बनाएर छ मैना भएपनि राम्रो कार्यालयमा बसौं भन्ने प्रस्ताव गरे तर मैले मानिन ।’


यस्तै कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी गौतमले आफूहरु प्लाष्टिकको पानी चुहिने कार्यालयमा बसेर पाँच वर्ष बिताएको स्मरण गर्दै आउने जनप्रतिनिधिको लागि पक्की घर निर्माणको थालनी गरेको जानकारी दिइन् । उनले विभिन्न जटिलताका बीच आफूहरुले सकेसम्म राम्रो कार्यसम्पादन गरेको समेत बताइन् ।


नगरपालिका परिसरमा रहेको पोखरीको पूर्वपट्टि निर्माण सुरु भइसकेको प्रशासकीय भवन १२ करोड रुपैयाँ लागतमा तयार हुनेछ । भवनमा लिफ्ट सहित अन्य आवश्यक सुविधाहरू उपलब्ध हुने बताइएको छ । उक्त भवन अबको तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।