घोडेटार । हतुवागढी खेलकुद विकास समितिद्वारा जारी अन्तर वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा समापन गरिएको हो ।
गत सोमबार देखी भोजपुरको हातुवागढी १ घोडेटार स्थित सगरमाथा माविको खेलमैदानमा जारी उक्त प्रतियोगिता आज (शुक्रबार) सम्पन्न भएको हो ।
आज भएको फाइनल खेलमा पुरुष तर्फको उपाधी हतुवागढी ९ हसनपुर भलिबल क्लबले जित्न सफल भएको छ ।
बेस्ट अफ फाइभको आधारमा खेलाइएको पुरुष तर्फ फाइनल खेलमा हतुवागढी ९ हसनपुरले वडा नम्बर ५ होम्ताङ्गलाई २५-२०,२५-२१ र २५-२० को सोझो सेटमा हराउँदै प्रथम बनेको हो ।
उपाधी विजेता बनेसँगै हसनपुर भलिबल टिमले रु.५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै उपविजेता टिम हतुवागढी ५ होम्ताङ भलिबल क्लबले रु ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।
आजै सम्पन्न महिला तर्फको फाइनल खेलमा हतुवागढी ६ प्रथम बनेको छ भने हतुवागढी ५ होम्ताङ भलिबल टिम दोस्रो भएको हो ।
हतुवागढी खेलकुद विकासका अध्यक्ष बाल कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने, हतुवागढी गापा वडा नम्बर १ का अध्यक्ष कुमार विष्ट, वडा नम्बर २ का अध्यक्ष बिचारी थापा, वडा नम्बर ३ का अध्यक्ष राजकुमार राई, वडा नम्बर ४ का अध्यक्ष चन्द्र बहादुर विष्ट, वडानम्बर ६ का कार्यबाहक अध्यक्ष नन्द राई, वडानम्बर ७ का अध्यक्ष ध्यानकुमार राई, नेकपा एमाले हतुवागढी सचीव लाल बहादुर प्रधान, नेकपा माओवादी केन्द्र हतुवागढीका अध्यक्ष श्याम हाङखिम राई, समाजसेवी नारायण निरौला लगाएतको उपस्थिति रहेको थियो ।