वीपीको उपकुलपतिमा ज्ञानेन्द्र गिरी स्वतः पुनर्बहाली

न्युजलय १७ फाल्गुण २०८०, बिहिबार ०८:२५ मा प्रकाशित

सुनसरी । १३ महिनाअघि निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विषेश अदालतबाट सफाइ पाएका छन् । सफाइसँगै उनी उपकलुपतिमा स्वतः बहाली हुने भएका छन् ।

मंगलबार विषेश अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले गिरीलाई सफाइ दिएको हो ।

नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा आफैं लिएको आरोपमा पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टचार मुद्दा दर्ता भएपछि तत्काल डा. गिरी निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेपछि केही समय शिक्षाध्यक्ष प्राडा सञ्जीव कुमार शर्माले निमित्त उपकुलपति चलाएका थिए ।

अदालतको फैसलाले निलम्बन फुकुवा भएकाले गिरी अब बाँकी रहेको अवधि करिव १६ महिनाका लागि बहाली हुने छन् ।