विप्लवद्वारा भोलि नेपाल बन्द आह्वान

न्युजलय २९ कार्तिक २०७८, सोमबार १०:२० मा प्रकाशित

काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई आह्वान गरेको छ ।

पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिको बिरोधमा मंगलबार (भोलि) नेपाल बन्द घोषणा गरिएको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले भोलि सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् । 

सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले स्पष्ट पारेको छ । 

आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ ।