वैवाहिक अंगीकृतलाई तुरुन्तै नागरिकता दिनुपर्ने पक्षमा गठबन्धन

न्युजलय ७ साउन २०७९, शनिवार ०१:३७ मा प्रकाशित

काठमाडौं । वैवाहिक अंगीकृतलाई नागरिकता दिनको लागि सात वर्षे समयसीमा राख्नुपर्ने प्रस्ताव संसदको बहुमतले अस्वीकार गरेको छ । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले समयसीमा राखेर संशोधन हुनुपर्नेमा भोट दिएका थिए । 

संसदमा नागरिकता विधेयकको दफावार छलफलमा सहभागी अधिकांस सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका थिए । तर नेपाली पुरुषसँग विवाह गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिने प्रावधानको पक्षमा काँग्रेसलगायत गठबन्धन देखिएका हुन् ।

एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता हुन नसक्ने बताउँदै सांसद झपट रावलले बुहारीका बारेमा सोच्दा विवाह गरेर जाने छोरीका बारेमा पनि सोच्नुपर्ने बताए। उनले सार्क देशका विभिन्न उदाहरण प्रस्तुत गर्दै उनले गम्भीर राष्ट्रघात भइरहेको आरोप लगाएका थिए। यसैगरी सत्तारुढ दल एकीकृत समाजवादीकै सांसद चौधरीले पनि ७ वर्षे प्रावधानको पक्ष लिएकी थिइन्।

५० जना सांसदले २९ वटा संशोधन राखेका थिए। केहीबाहेक अधिकांस सांसदका संशोधन बहुमतबाट अस्वीकृत भएका छन्।