काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका ३ सीमा ईलाकाबाट नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ का २३ वर्षीय असरक महोमद धोबी र धनुषाकै जनकपुर उपमहानगरपालिका ६ का २६ वर्षीय मोहमद मुजाहिद रेजा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको र एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोटसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।