कपिलवस्तुमा गाडेको अवस्थामा एक युवतीको शव फेला

न्युजलय २२ माघ २०७८, शनिवार ०२:०४ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुमा गाडेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेर शुक्रबार पोस्टमार्टम गर्न अस्पताल पठाएको छ ।

 

उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।  

 

उनका अनुसार माघ १९ गते राति बिरामी थिइन् । पछि झुन्डिएर मृत्यु भई भन्दै केही छिमेकीलाई समेत बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएको थियो । हिजो साँझ ८ बजे मात्र झुण्डाएर हत्या गरी शव सदगत गरेको भन्ने सूचना पाउन साथ प्रहरी त्यहाँ शव पुगेर उत्खनन गरेको थियो । लगत्तै हत्या आशङ्कामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।