मानव कङ्कालसहित बीपीका विद्यार्थी विराटनगरमा पक्राउ

न्युजलय ३० चैत २०७८, बुधबार ०२:२३ मा प्रकाशित

धरान । सशस्त्र प्रहरी बल बिओपी (बोर्ड आउट पोस्ट) रानीले सीमावर्ती क्षेत्रबाट मानव कङ्काल सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई पक्राउ गरेको छ । 


प्रतिष्ठानमा अध्ययनरत भारतीय विद्यार्थीलाई नेपालबाट भारततर्फ जाँदै गर्दा सशस्त्र प्रहरीको टोलीले मानव शरीरका हड्डीसहित पक्राउ गरेको हो । 


सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार नाकामा चेकजाँच गर्दा भारत विहारको पूर्णिया नगर पञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए । 


उनको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको लामिछानेले बताए । पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद भएको छ । 


पक्राउ परेका सिन्हाले आफूले अग्रज विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल लिएको बताएका छन् । पढाइ सकेपछि अध्ययनका लागि आफूले लिएको सामग्री घर नै लगेको उनले बताए । उनले मानव कङ्काल लगेको विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नभएको बताइएको छ ।


उनको साथबाट भेटिएको मानव हड्डीहरूमा साना अक्षरले लेखिएको छ । अध्ययन प्रयोजनका लागि लेखिएको हड्डीहरू अध्ययनकै लागि घरतर्फ लगेको उनले बताए । 


नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि जनपथ प्रहरीको जिम्मा लगाएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीका अनुसार मानव अङ्गको ओसारपसारमा कानुनी प्रतिबन्ध छ ।