सरिता गिरीले छाडिन् सद्भावना पार्टी, स्वतन्त्र भएको घोषणा

न्युजलय ८ भदौ २०७९, बुधबार ०४:२१ मा प्रकाशित

जनकपुरधाम । संसदमा बारम्बार विवादास्पद अभिव्यक्ति दिने नेतृ सरिता गिरीले आफू स्वतन्त्र भएको घोषणा गरेकी छिन् । नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको एक महिनामै पार्टी छाड्दै उनले आफू स्वतन्त्र भएको घोषणा गरेकी हुन् ।

०७९ साउन ७ मा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गिरीलाई पार्टी प्रवेश गराएका थिए । सद्भावनामा प्रवेश गरेको एक महिनामै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू स्वतन्त्र भएको घोषणा गरेकी हुन् ।

उनले लहानलाई आफूले कर्मभुमी बनाउने बताएकी छिन् । 

गिरीलाई उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीबाट कारबाही गरेपछि उनको साँसद पद गुमेको थियो । निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभेका कारण उनीमाथि जसपाले कारबाही गरेको थियो ।