काठमाडौ । आफ्नो पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूको तार काट्ने चेतावनी दिएको छ ।
प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । नत्र तार काट्ने उसको चेतावनी छ ।
प्राधिकरणले अधिकांश सेवाप्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई नियमानुसार सम्झौता गर्न तथा नवीकरण गर्न आनाकानी गरेकाले पुनः सूचना जारी गरिएको जानकारी दिए ।
प्राधिकरणले गत असोजमा आफूले निर्धारण गरेको पोल भाडा नबुझाउने तथा सम्झौतामा नआउने कम्पनीका केबल काट्ने अभियान सुरु गरेको थियो । सर्वत्र विरोध भएपछि ऊर्जामन्त्री पम्फा भुसालको अग्रसरतामा रोकिएको थियो । प्राधिकरणले तोकेको भाडा महँगो भएको भन्दै व्यवसायी नबुझाउने अडानमा छन् ।
विद्युत प्राधिकरणले ३३ र ११ केभीका पोलमा ‘एडीएएसएल ब्याकबोन’ केवल जडान गरेबापत प्रतिकिलोमिटर प्रतिवर्ष १४ हजार रुपैयाँ करबाहेक भाडा तय गरेको छ । जसमा ३३ र ११ केभी तथा त्यसभन्दा मुनिको विद्युत संरचनामा जडान हुने वितरण अप्टिकल फाइबर केबलमा जडान गरेबापत महानगरपालिकाका लागि ९ तथा नगरपालिका÷गाउँपालिकामा ७ हजार रुपैयाँ प्रतिकिलोमिटर प्रतिवर्ष तिर्नुपर्ने गरी शुल्क निर्धारण गरेको छ ।