इटहरीमा सर्पदंशबाट बालिकाको मृत्यु

न्युजलय २५ भदौ २०८३, बिहिबार १२:०५ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ ।

घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले बायाँ हातमा टोकेपछि उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएकी चौहानको उपचारकै क्रममा मृत्यु भएको हो ।

परिवारका अनुसार सर्पले टोकेको कुरा बालिकाले तत्काल अभिभावकलाई बताएकी थिइनन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको थियो । सर्पले टोकेको हातबाट रगतसमेत बगिरहेपछि परिवारले उनलाई इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

करिब ६ बजे उपचार केन्द्र पुर्‍याइए पनि १३ वर्षमुनिका बालबालिकाको उपचार गर्ने व्यवस्था नरहेको जानकारी गराइएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको परिवारले जनाएको छ ।

सर्पदंश केन्द्र लैजाँदै गर्दा बालिकालाई बान्ता भएको र अवस्था थप गम्भीर बन्दै गएको परिवारको भनाइ छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिए पनि आवश्यक पीआईसीयू ९बाल सघन उपचार कक्ष० उपलब्ध हुन सकेन । प्रतिष्ठानमा चारवटा पीआईसीयू रहे पनि त्यतिबेला कुनै बेड खाली नभएको प्रतिष्ठानले जनाएको छ ।

त्यसपछि परिवारले बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याएको थियो । साँझ करिब ७ः५० बजेतिर अस्पताल पुर्‍याइएकी चौहानलाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।