छैठौं भिमदल स्मृति हतुवागढी गोल्डकपको फाइनलमा आम्तेक ११ र घोडेटार भिड्दै

अर्जुन राई अपहेलित ४ पुस २०७८, आइतबार ०१:०८ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी १ घोडेटार स्थित जारी छैठौं भिमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८ को फाइनलमा आम्तेक र घोडेटारबिच प्रतिस्पर्धा हुने भएको छ । 


भिमदल स्मृती प्रतिष्ठान घोडेटारद्वारा श्री सगरमाथा माविको खेल मैदानमा आयोजित उक्त खुल्ला पुरुष फुटबल प्रतियोगिताको शनिबार दुई क्वाटरफाइनल र दुई सेमिफाइनल खेल सम्पन्न भएको हो । 


दुई सेमिफाइनल खेल सम्पन्न भएसँगै आम्तेक ११ फुटबल क्लब भोजपुर र घोडेटार फुटबल क्लब हतुवागढी फाइनल खेलमा प्रवेश गरेको हो ।


आइतबार (आज) प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा फाइनल खेल सञ्चालन गरिने आयोजकले जनएको छ । 


पौष १ गते देखि जारी उक्त गोल्डकपको तेस्रो दिन शनिबार (हिजो) चार खेल सम्पन्न गरिएको थियो । जसमध्ये पहिलो चरणको खेलमा कोदार फुटबल क्लब र घोडेटार फुटबल क्लब बिच भएको क्वाटर फाइनल खेलमा घोडेटारको जित सँगै सेमि फाइनलमा प्रवेश गरेको हो  ।


त्यस्तै आम्तेक ११ र पौवादुम्माबिचको क्वाटर फाइनल खेलमा  ३-० ले विजयी हुँदै आम्तेक ११ सेमि पाइनलमा प्रवेश गरेको हो । 


हिजै सप्पन्न बालंखा फुटबल क्लब र घोडेटार फुटबल क्लबबिचको पहिलो सेमि फाइनल खेलमा ०-४ गोल गर्दै घोडेटार फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । 


त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सुन्तुम राक्दुम फुटबल क्लब हतुवागढी २ लाई १ का विरुद्ध ९ गोल गर्दै आम्तेक फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।


पौष १ गतेबाट शुरु भएको यस संस्करणको विजेता टिमले नगद रु। १ लाख ६६ हजार ६ सय तीसका साथमा रनिङ्ग शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद रु. १ लाख १ हजार ३०, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।


हतुवागढी गोल्डकपको निरन्तरता र स्थायीत्वका लागि आयोजकले आगामी ५ वर्षमा अक्षयकोषको रकम एक करोड पुराउने लक्ष्यको साथ अगाडी बडेकाले आम क्षेत्रबासी तथा देश विदेशमा बसोबास गर्ने नेपाली दाजुभाईहरुसँग सहभागिताका लागि आव्हान गरिएको प्रतिष्ठानका सचिव शंकरहरि खालिङ्गले जानकारी दिए ।