इटहरी । फागुन ४ गते सुनसरीको उपमहानगरपालिका वडा नम्बर ४ मा एक जेब्रा झोलामा संकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय धरान र संघिय प्रहरी ईकाइ धरानबाट प्रहरी टोली घटना स्थलमा पुग्यो । सो जेब्रा झोलामा प्रहरीले एक पुरुषको हत्या गरेर फालेको शवको टाउको र खुट्टा फेला पर्यो । लगत्तै भोलिपल्ट अर्थात फागुन ५ गते प्रहरीले टाउको र खुट्टा भेटिएको ठाउँबाट एक किलोमीटर टाढा जिउ र हात सहित शरिरका अन्य भाग रहेको जेब्रा झोला फेला पर्यो । झण्डै एक साता लगाएर प्रहरीले यो घटना सुल्झायो ।
मृतकको सनाखत गर्न सकस परेपछि प्रहरीले स्केच (हुलिया) सार्वजनीक गर्यो । त्यसको केहि दिनमा नै प्रहरीको सुक्ष्म अनुसन्धानले मृतक दिनेश सिग्देल रहेको पुष्टि गर्यो । अनि उनको विराटनगरमा हत्या गरेर धरानको जंगलमा शव व्यवस्थापन गरेको प्रमाणीत भयो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिग्देलकी कान्छी श्रीमती र श्रीमतीका प्रेमीलाई पक्राउ गर्यो । अनुसन्धानका क्रममा सिग्देल विदेशमा रहेको र श्रीमती अर्कैको प्रेममा परेको थाहा पाएर नेपाल आएका खुल्यो । आफ्नो प्रेम सम्बन्ध बारे थाहा पाएपछि कान्छी श्रीमती र उनका प्रेमी मिलेर हत्या गरेको र शव व्यवस्थापन गर्न धरान अटोमा हालेर ल्याएको उनीहरुले स्वीकार गरे । यसरी प्रहरीले यो घट्ना सुल्झायो । प्रहरीले फागुन १० गते घटनामा संलग्न सार्वजनीक गर्यो ।
यो घटना सुल्झीन नपाउँदै उदयपुरको कटहरी नगरापलिका वडा नम्बर ८ जंगलमा फागुन ७ गते प्रहरीले एक व्यक्ति मृत अवस्थामा फेला पार्यो । त्यसको ४ दिन पश्चिात् फागुन १० गते प्रहरीले हत्या भएका व्यक्ति भारतिय नागरीक ५० वर्षीय रामकिसन मिणा भएको पुष्टि गर्यो । उनको हत्या आरोपमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल वि.कलाई पक्राउ गर्यो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दियो ।
मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी ८ बाट बि.क.लाई पक्राउ गरेको हो । बि.क.लाई पक्राउ गरे संगै सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्विकार गरेको प्रहरीले जानकारी दियो ।
यी दुई घटना साम्य हुँदै गर्दा फागुन १३ गते मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ कि १२ वर्षीय बालिका करुणा राई लालहिरा समुदायीक बनमा शव ढुङ्गाले छोपेको अवस्थामा फेला पर्यो । अनुसन्धानको क्रममा प्रहरीले उनको हत्या जवरजस्तीकरणी पछि गरिएको पुष्टी गर्यो । र, हत्या आरोपमा सोहि ठाउँका ६४ वर्षीय दिपक गिरीलाई पक्राउ गर्यो । ११ गतेदेखि हराएकी करुणालाई आफूले बलात्कारपछि हत्या गरेको उनले स्वीकार गरे । फाल्गुन ११ गते बेलुकी साढे ४ बजे जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ ८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गएका र बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरी घाँटी थिचि हत्या गरेको फागुन १५ गते पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गरायो । शव कसैले थाहा नपाउन् भनेर ढुंगाले छोपेको प्रहरीले जानकारी गरायो ।
यी तीन घटना प्रतिनिधि घटना मात्रै हुन् । गत असोज यता प्रदेश १ मा मात्रै ३६ वटा हत्याका घटना विभन्न जिल्लामा दर्ता भएका छन् । ती मध्ये अधिकांशको प्रहरीले संलग्नलाई पक्राउ गरेर कानूनी उपचार गरेको छ । घटनाको संख्या बाहिर आइरहँदा अर्को डरलाग्दो तथ्य पनि बाहिरीएको छ, अधिकांस हत्यामा आफान्त, चिनजानकै मानिसको संलग्नता । प्रदेश १ मा भएका प्रायः सबै हत्यका घटनामा कि परिवारका सदस्य, या आफन्त वा चिनजानकैले गरेको पुष्टि भएको छ । ‘पछिल्लो दिनहरुमा जतिपनि घटनाहरु घटेका छन्, ती घटनाहरुको श्रींखाल हेर्दा कि आर्थिक कारणले कि पारिवारीक विचलनका कारणले र कि सम्बन्धका आएको खटपटका कारणले भएको पाइएको छ’, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले भने, ‘सम्पत्तीको लागि र एक्ट्र लभ अफेयर (बाह्य प्रेम सम्बन्ध)का कारण बढी हत्याका घटना भएको पाइएको छ । यी घटना हेर्दा आफन्तकै संलग्नता बढी छ । यो अवस्था अहिले डरलाग्दो रहेको छ ।’ प्रहरी उपरिक्षक थापाका अनुसार सम्पतीको मोह र पारिवारीक सम्बन्धमा आएको खटपटले बढी मात्रामा हत्या हुने गरेको पाइएको छ ।
सामाजिक सञ्जालले पनि बढायो हत्याका घटना
समाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण पनि हत्यका घटना बढेको पाइएको छ । पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै हत्यालाई पनि प्रोत्साहन मिलेको प्रहरी निरिक्षक थापा बताउँछन् । ‘यसलाई समाजिक सञ्जाल भन्ने कि समाजिक जनजाल भन्ने’, प्रहरी निरीक्षक थापाले भने, ‘सामाजिक सञ्जालको प्रयोगले पनि हत्याका घटना अहिले अत्याधिक बढेको छ । अस्ति धरानकै केसमा (जेब्रा झोलामा भेटिएको शवको हत्या प्रकरणमा) पनि फेसबुककै कारण हत्या भएको पाइएको छ । दिनेश सिग्देलकी कान्छी श्रीमतीको फेसबुकमा ती पुरुषसँग लभ परेको र सिग्देलले थाहा पाएपछि दुई मिलेर हत्या गरेको उनिहरुको बयानबाट खुलेको छ । यसरी हेर्दा सामाजिक सञ्जालको प्रयोगले पनि हत्याका घटना चाहिँ बढाएको पाइन्छ ।’ सामाजिक सञ्जालका कारण हत्यमा मात्रै नभएर आत्महत्याका घटना पनि बढेको उनले बताए । खासगरी वैदेशीक रोजगारीमा श्रीमान रहेका श्रीमतीहरु अन्य सँग सम्बन्ध राख्ने र घरमा थाहा पाएपछि हत्या या आत्महत्याको अवस्थामा पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनि बताउँछन् ।
चलचित्रका कथावस्तु प्रेरणाको स्रोत बन्दै
हत्यामा संलग्नहरु ‘स्मार्ट’ बन्दै गएको प्रहरी अनुसन्धानहरुले देखाएको छ । पछिल्लो समय चलचित्र तथा अन्य भिडियो सामग्रीबाट सिकेर हत्या गर्ने र त्यसको व्यवस्थापन गर्न सिक्ने प्रचलन पनि बढ्दै गएको प्रहरीको बुझाई छ । जसले प्रहरी अनुसन्धानलाई थप सकसपूर्ण बनाउँदै लैजाने गरेको प्रहरी उपरिक्षक थापाको भनाइ छ । ‘अहिलेको वर्तमान अवस्थामा मानिसहरु प्रविधियुक्त भइसकेका छन्’, उनले भने, ‘क्राइम पेट्रोल, सि.आई.डी लगायतका विभिन्न अपराधिक चलचित्रहरुबाट पनि मानिसहरु इन्सपायर (उत्पेरित) भएको पाइन्छ । घटना घटेपछि कसरी व्यवस्थापन गर्ने त भन्ने विषयमा उनिहरुले जुन सुझबुझ लगाउँछन् त्यो चाहिँ विभिन्न चलचित्र र सिरियलबाट इन्सपायर भएको देखिन्छ ।’ यसरी हुने अपराधका घटनामा प्रहरी अनुसन्धान नै थप जटिल बन्दै गएको उनले जानकारी दिए । ‘अहिलेको प्रविधियुक्त जमानामा मनिसहरुले हत्या कसरी गर्ने भन्ने सिक्ने भएको कारणले गर्दा योजनावद्ध हुने घटनाको अनुसन्धान गर्न हामीलाई गाह्रो नै हुन्छ’, उनले भने । तर केहि घटना भने समान्य सजगता नै नअपनाई गरेको समेत पाइएको उनको भनाइ छ ।
एकै प्रकृतिका घटना किन दोहोरी रहन्छन् ?
गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका–७ बस्ने दिलिप सिंहको उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । उनिहरु जग्गा कारोबारी भएको र कारोबारको रकम एकलौटी बनाउन हत्या भएको पुष्टि भयो । त्यस यता मंगलबारसम्म प्रदेश १ मा झण्डै एक दर्जन हत्याका घटना सार्वजनीक भए । यो विचमा अन्य अपराधका घटना खासै सार्वजनीक भएनन् । केहि समय अघि प्रदेश १ मा आत्महत्या र चोरीका घटना पनि हप्तौँसम्म श्रींखलावद्ध रुपमा भएका थिए । यस्तै लागूऔषध कारोबारी पक्राउ पर्ने पनि प्राय श्रृंखलावद्ध नै हुने गरेका छन् । आचार्यलाग्दो कुरा त के भने, कुनै एक प्रकृतिको घटना सुरु भएपछि झैण्ड एक दर्जनको हाराहारीमा सोहि प्रकृतिका घटना हुने गरेको पाइएको छ । ‘म प्रहरीको हिसाबले र आम नागरिकको हिसाबले पनि ति कुरालाई महसुस गरेको छु किन भने कहिले कहिँ दुर्घटना हुन् र सिरियली दुर्घटना मात्रै हुन्छ’, प्रहरी निरीक्षक थापाले भने, ‘कहिले कहिँ हामी एउटा घटनासँग जोडिँदा त्यस्तै घटनाहरु आइरहन्छ । यो संयोगवस हो या हामीले चाहिँ त्यस्तै प्रकृतिका घटनालाई बढी चासो दिएका कारण बाहिर आएको त्यो चाहिँ अनुसन्धानको विषय बन्न सक्छ ।’ आम नागरिकमा एउटा घटना भएपछि त्यस्तै प्रकृतिको अन्य घटनामा चासो हुने र फलोअप गर्ने हुँदा एक समयमा एकै प्रकृतिका घटना बढी बाहिर आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
वयस्कको संलग्नता अधिक
यसरी हुने हत्याका घटनामा वयस्कको संलग्नता बढी भएको पाइन्छ । जसरी लागूऔषधको कसुरमा पक्राउ पर्नेमा युवा बढी भएको पाइएको छ त्यसरी नै हत्याका घटनामा वयस्कको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश १ मा हुने हत्याका घटनामा खासगरी २० वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुको संलग्नता बढी पाइने गरेको प्रहरीको पक्राउ संख्या र अनुसन्धानबाट आँकलन गर्न सकिन्छ । ‘यसलाई तथ्याङ्कगत रुपमा र क्राइम प्याटन एनलाइसिस (विश्लेषण) गरियो भने वयस्क उमेर समूहबाट भएको मैले पाउँछु’, उनले भने, ‘तर यसको लागि अझै क्राइम प्याटन विश्लेषण गर्नुपर्ने हुन्छ । तथापि अहिले हामीले जुन घटना हेर्दा हजुरबुमा, आमा, वयोवृद्धा आमाबुबालाई हत्या गरेका घटना अन्य जिल्लामा पनि सुनिएका छन् र सँगसँगै हाम्रो यहाँ भएका घटनालाई समेत हेर्दा एउटा वयस्क उमेर समूहका मानिसहरुले बढी घटाएको देखिन्छ ।’ हत्याका घटनामा बालकालिका र वृद्धवृद्धाको पनि संलग्नता रहेको तर त्यो वयस्कको तुलनामा धेरै कम रहेको उनले जानकारी दिए । यस्तै टिनेजर्स जो लागूऔषधको कुलतमा फेसेका छन् उनिहरुबाट पनि हत्या भएको घटना सार्वजनीक हुने गरेको उनले जानकारी दिए ।