सर्लाही । सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या गरिएको छ । चन्द्रपुर गाउँपालिका १ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।
रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ। खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन्। त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका छन्।
अध्यक्ष महतोका अनुसार आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बताएका छन्।
ती मान्छेहरूसँग कुराकानी भइरहँदा रायले भान्सेलाई छतमा गएर सुत्न भनेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
तीन दशकअघि राप्रपाबाट राज्यमन्त्री बनेका थिए ।