विराटनगर । विराटनगर भन्सारबाट हुने आयात निर्यात आधाले घटेको छ ।
जोगवनी नाकाको मुख्य मार्गमा पर्ने भारतको बथनाहनजिक मिरगञ्ज पुल भासिएसँगै भण्टाबारी नाकाबाट आयात निर्यात बढेपछि विराटनगर भन्सारबाट हुने व्यापार आधा बढीले घटेको हो ।
पुस अन्तिम साता मिरगञ्ज पुल भासिएको थियो । त्यसको एक सातापछि भण्टाबारी नाकाबाट आयात निर्यात बढ्दै गएको छ । यसले विराटनगर भन्सारको राजश्व असुली पनि प्रभावित भएको बताइएको छ ।
सामान्य अवस्थामा विराटनगरको जोगवनी नाका हुँदै दैनिक सरदर तीन सयभन्दा बढी मालबाहक ढुवानीका साधन भित्रिन्थे तर, पछिल्लो समय दैनिक १ सय वटा पनि प्रवेश गरेका छैनन् ।
विराटनगर भन्सारले दैनिक सरदर १५ करोड राजश्व असुली गर्दै आएमा हाल दैनिक सरदर ५ करोड मात्र राजश्व संकलन हुँदै आएको छ ।