वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को जित

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०९:५६ मा प्रकाशित

काठमाण्डौ । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिविम मैदानमा मंगलबार (आज) देखि सुरू भएको खेलमा प्रदेश १ ले बागमति प्रदेशमाथि २६ रनको जित निकालेको हो।

प्रदेश १ ले दिएको १७६ रनको लक्ष्य पछ्याएको बागमति ३१.४ ओभरमा १४९ रनमा अलआउट भयो। बागमतिका लागि विपिन शाहीले ४३ रन र विवेक मगरले ४२ रन जोडे। ओपनरद्वय सूर्यांशु कोइराला र उत्तम मगर क्रमशः ५ रन र ४ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान पनि सस्तैमा आउट भए।

बलिङमा प्रदेश १ का लुभ कामतले ५ विकेट लिए। उनले ६ ओभर २६ रन खर्चिए। दिपेश कँडेलले ३ विकेट र दिपक जोशीले १ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४५.३ ओभरमा अलआउट हुँदा १७५ रन जोड्यो।

उसका लागि सोनु अन्सारीले ३२ रन, लुभ कामतले ३३ रन, दिपेश कँडेलले २३ रन र दिपक जोशीले ३३ रनको योगदान दिए।