तरकारी बोकेको ट्रकबाट २५ सय ६६ किलो गाँजा बरामद, चालक पक्राउ

न्युजलय १९ असोज २०८३, सोमबार ११:२९ मा प्रकाशित

सुनसरी । इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले तरकारी  बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। 

आइतबार राति अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकमा बन्दाकोभीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । बरामद गरिएको गाजा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको प्रहरीले जनाएको छ  ।

प्रहरीले गाँजा र ट्रकसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दिप राईलाई नियन्त्रणमा लिएको छ। 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।