भक्तपुर । १० दिनअघि भक्तपुरमा मृत भेटिएकी ४६ वर्षिया जमुना भट्टराईको मृत्युको सम्बन्धमा सत्यतथ्य चाँडै सार्वजनिक गर्न परिवारले माग गरेको छ ।
बाथरुममा लडेर मृत्यु भएकी भनिएकी भट्टराईको हत्या भएको हुनसक्ने शंका गर्दै जाहेरी दिएका आफन्तहरुले घटनाको अनुसन्धानलाई तीव्र बनाउन माग गरेका हुन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी भट्टराईको मृत्युलाई आफन्तहरुले सामान्य रुपमा लिएर विश्वास गरेको थियो ।
पछि प्रहरीले शंकास्पद रहेको भन्दै शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
गत जेठ ५ गते पति हिरामणी भट्टराईसँग सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेस्थित भाडाको घरमा बस्दै आएकी जमुना मृत भेटिएकी थिइन् । उनी बिहान ३ बजेतिर चर्पी जाँदा लडेर टाउको ठोकिइ तत्कालै मृत्यु भएको पति हिरामणीले आफन्तहरुलाई बताएका थिए ।
तर शव राखिएको तन्नामा रगत नहुन्, ब्लाङ्केट रगतले पुरै भिज्नु, निधार र घाँटीमा चोट लाग्नु, आँखा सुन्निनुले लडेर मृत्यु भएको भनाईमा शंका उत्पन्न भएको जमुनाका दाजु नवराज दाहालले बताएका छन् ।
यस्तै पति हिरामणीले आफ्ना ल्ुगा सबै धोइ पखाली गरेको समेत भेटिएको बताइएको छ । त्योभन्दा मुख्य कुरा, अस्पताल नलगी शवलाई सिधै घाटमा लान खोजेको समेत मृतककी माइती पक्षका आफन्तको आरोप छ ।
मृत्युलगत्तै हिरामणीले आफ्ना दाजु पर्शुराम भट्टराईलाई बोलाएका थिए । त्यसपछि नवराज घटनास्थलमा पुगेका थिए । सिधै घाट लैजान खोजेपछि नवराजले भान्जाहरुलाई खबर गर्नुपर्ने बताएपछि अष्ट्रेलियामा रहेका उनका छोराहरुलाई खबर गरिएको थियो ।
‘आमाको दाहसंस्कार आफू आएपछि मात्र गर्न भन्दै छोराहरुले आइसमा राख्न भनेका थिए,’ मृतकका आफन्त ओके दाहालले भने, ‘त्यसपछि मात्र अस्पताल लगिएको थियो, त्यहाँको प्रहरीले शंका लागेपछि शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।’
टिचिङ अस्पतालमा शवको पोष्टमार्टम गरिएको थियो । अष्ट्रेलियाबाट छोराहरु आएर सद्गत गरिसकिएको बताइएको छ । तर पोष्टमार्टम रिपोर्ट अझै नआएको प्रहरीको भनाई छ । घटनाको टुंगो नलगाउँदा र पोष्टमार्टम रिपोर्टसमेत ढिलो आउँदा परिवार तथा आफन्तहरु पीडामा परेको नवराजले बताए ।
यता प्रहरीले भने अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि यकिन गर्न सकिने जनाएको छ । प्रहरी वृत्त जगातीकी डिएसपी दिप्ती कार्कीका अनुसार घटनाको सबैतर्फबाट अनुसन्धान भइरहेको बताउँदै केही दिनमा वास्तविकता खुल्ने बताइन् ।