देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

न्युजलय २३ माघ २०७८, आइतबार ०६:३५ मा प्रकाशित

सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । 

सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी का २० वर्षीय प्रमेश्वर साहले भाउजू २७ वर्षीया राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो  । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा प्रमेश्वरले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार(हिजो) राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

सप्तरी प्रहरीले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ ।