इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले कोरोनो भाइरसको तेश्रो लहर नियन्त्रण, रोकथाम तथा उपचारका लागि आइसोलेशन सेन्टर नबनाउने भएको छ ।
यस अघि बनाएको आइसोेलेशनमा संक्रमित भन्दा कर्मचारी बढी भएको भन्दै नगर प्रमुख निलम खनालले यो पटक आइसोलेसन नबनाउने बताएका छन् । ‘हामीले दुई महिलानापहिला मात्रै आइसोलेसन हटायौँ’, उनले भने, ‘त्यहाँ के देखियो भने, १०÷१२ जना मन्छे हुने १५÷२० जना चाहिँ जनशक्ति खर्च भयो हाम्रो ।’ कोरोनाको पहिलो लहर फैलँदा बराहक्षेत्रले चतारा धाममा र दोश्रो लहर फैलँदा सप्तकाशी बहुमुखी क्याम्पसमा आइसोलेसन बनाएको थियो । यसरी आइसोलेशन सञ्चालन गर्दा कोरोना संक्रमित भन्दा कर्मचारी व्यवस्थापनमा बढी खर्च भएको नगर प्रमुख खनाल बताउँछन् । ‘विरामीलाई भन्दा हाम्रो जनशक्तिमाथि धेरै खर्च भयो’, उनले भने ।
अघिल्ला वर्षका अनुभवले नगरपालिका अहिले आइसोलेशन बनाउने विशेषमा लागि नपरेको उनको भनाइ छ । नगरपालिकाले जनचेता र सावधानीका काम भने गरिरहेको उनले जानकारी दिए । यसका साथै बिरामीलाई होम आइसोलेशनमा नै बस्न नगरपालिकाले प्रेरित गर्ने उनको भनाइ छ । होम आइसोलेशनमा बस्दा संक्रमण उच्चदेखिए अस्पतालसम्म पुर्याउन नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने उनले जानकारी दिए । ‘अहिले आइसोलेशन बनाउने कुरामा कुनै सोचै बनाएको छैन । यो सत्य तथ्य हो’, उनले भने, ‘हामीले दुरी कायम गर्ने र आइसोलेसन सेन्टर चाहिँ घरैलाई प्रयोग गर्ने तयारीमा हामी छौँ । अति आवश्यक जस्तोः एम्बुलेन्सको समस्या हो, अक्सिजनको समस्या होला त्यो विषयमा नगरपालिकाले आवश्यक समन्वय गर्छ ।’
अघिल्लो पटकका कोरोना नियन्त्रणमा देशमा तीन तहको सरकार भए पनि स्थानीय सरकार मात्रै त्यसको जिमेवारीवोध गरेर काम गर्न बाध्य भएको उनको भनाइ छ । प्रदेश सरकार र संघीय सरकारले कोरोना नियन्त्रणमा नगरपालिकासँग हातेमालो र समन्वय नै नगरेको उनको गुनासो छ । ‘खै के मिल्यो त ? सबै नगरपालिकाले गरेको छ’, उनले भने, ‘माथिल्लो सरकारले यो दिन्छौँ, उ दिन्छौँ भनेर भनो तर दिएन । बरु दाताहरुले दिनुभयो । प्रदेश सरकार र संघीय सरकारले या भ्याक्सिन उपलब्ध गराउने बाहेक केहि गरेको छैन हामीलाई ।’
उनले अगाडि थपे, ‘माथिल्लो सरकारले त गर्दै छ भन्ने सुन्ने मात्रै हो । सबै गर्ने स्थानीय सरकारले नै हो ।’ माथिल्लो सरकारले सहयोग र समन्वय गरेन् भनेर कोरोना नियन्त्रणमा नगरपालिका चुप नबस्ने उनको भनाइ छ । भ्याएसम्म र नगरपालिकाको श्रोतले पुगेसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारमा लागिपर्ने उनले जानकारी दिए ।