इजरायल-प्यालेस्टाइन युद्धको असर: तेलको भाउ बढ्दै

न्युजलय २३ असोज २०८०, मङ्गलबार ०२:१५ मा प्रकाशित

काठमाडौं । इजरायल आक्रमणलगत्तै विश्व अर्थतन्त्रमा यसको असरमा देखिन सुरु भइसकेको छ । 


शनिबार बिहान इजरायलमा सुरु भएको हमला यताको ४८ घण्टामा कच्चा तेल, प्राकृतिक ग्याँस, सुनको मूल्य उकालो लागेको हो ।


उक्त हमलापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपाल आयल निगमले चिन्ता व्यक्त गरेको छ । नेपालले भारतबाट तेल आयात गर्छ, भारतले ब्रेण्ट क्रुड आयात गरी प्रशोधन गर्ने गरेको छ । यो कच्चा तेलको मूल्य पनि युद्धसँगै उकालो लागेको छ । शनिबार डलर ८४.६४ प्रति ब्यारेलमा कारोबार भइरहेको ब्रेण्ट कच्चा तेलको मूल्य आइतबार ८८.६६ डलर पुगेको थियो । सोमबार यसमा केही सुधार भएर ८६.५२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ ।


प्राकृतिक ग्याँसको मूल्य झण्डै २ प्रतिशतले बढेको छ भने सुनको मूल्य प्रतिऔंसमा २२ डलरले वृद्धि भएको छ । ७ अक्टोबारमा प्रतिऔंश १८२९ डलरमा कारोबार भइरहेको सुनको मूल्य युद्ध लगत्तै १८५१ डलर प्रतिऔंश पुगेको थियो । सोमबार यो समाचार तयार पार्दासम्म बढेको मूल्यमा २ डलरको गिरावट देखिएको छ ।


सुनको मूल्य बढे लगत्तै त्यसको असर नेपालको बजारमा परिसकेको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । कच्चा तामाको मूल्य प्रतिपाउण्ड ३।६२ डलर रहेकामा प्रतिपाउण्ड ३.६७ पुगेर केही ओरालो लाग्ने क्रममा छ ।


रुस–युक्रेन युद्धका कारण थलिएर केही सुधार हुँदै गरेको इन्धनको मूल्यलाई हमास–इजरायल युद्धले थप समस्यामा पार्ने देखिएको छ । व्यापार तथा निकासी प्रर्वधन केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५० करोड, २०७८/७९ मा एक अर्ब ४२ करोड बराबरको वस्तु आयात गरेको थियो । ती वर्षमा नेपालले क्रमशः ३१ करोड २६ लाख र २२ करोड ७ लाखको वस्तु इजरायल निर्यात गरेको थियो ।