अहिलेको बजेट कार्यान्वयनमा गइसक्यो नयाँ बजेटमा थप काम गर्छौँः मुख्यमन्त्री राई

शंकर खत्री १९ मङ्सिर २०७८, आइतबार ०२:१२ मा प्रकाशित

इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी बर्षको बजेटका आफूहरुले आश गरे बमोजिमको प्रदेशको विकासको काम गर्ने खालको बजेट ल्याउने बताएका छन् । 


शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिकाका आयोजित लायन्स क्लब इन्टरनेस्नल डिस्ट्रिक ३२५ ए १ को दोस्रो नियमित जिल्ला मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले बजेट कार्यान्वयनमा गइसकेकाले अघिल्लो सरकारले अघि सारेका बजेटका कार्यक्रमलाई नै निरन्तरता दिनुपर्ने बाध्यता र संवैधानीक व्यवस्था रहेकाले त्यसलाई आफूले अघि बढाउने बताए ।


‘हामी कोसीस गर्छौँ । हामी छोटो समयका लागि भएका छौँ’, उनले भने, ‘त्यो पनि बजेट पास भएर कार्यान्वयनमा गइसकेको अवस्थामा हामीले त्यसालाई चलाइराख्ने अवस्था हुँदैन । त्यो वित्तिय हिनता हुन्छ । त्यहि भएकाले हामीले पहिलेका बजेट कार्याक्रमलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ । अब हामीले गर्न सक्ने भनेको त्यहि बजेटलाई, त्यहि कार्यक्रमलाई सक्षमतापूर्वक कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी हो ।’


उनले यस अघिको सरकारले प्रदेशको बजेटको ६५ प्रतिशत् मात्रै बजेट कार्यान्वयन गर्दै आएकोमा त्यसालाई बढाउन आफूले प्रयास गर्ने बताए । अहिले अघिल्लो सरकारले बजेट ल्याएका कारण आफूहरुले मौन भएर कार्यान्वय गर्ने काम मात्रै गर्ने उनको तर्क छ । आगामी वर्षको बजेटका अन्य कार्याक्रम ल्याउने उनले बताए । ‘हामीले बढी काम गर्ने भनेको आगामी वर्षको बजेटबाट गर्ने हो’, उनले भने, ‘त्यसका लागि हामीलाई सामाजिक संघसंस्थाको पनि सहयोग चाहिन्छ । र, तपाइँहरुको खबरदारीको पनि आवश्यकता छ ।’