कोशी टप्पुमा दुई गैंडा ल्याइयो

न्युजलय १० असोज २०८०, बुधबार ११:२६ मा प्रकाशित

सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली नाम दिइएका दुई गैंडा कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएको छ । 


माउबाट छुट्टिएपछि उद्धार गरेर हुर्काइएका पोथी गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली मंगलबार कोशी आएका हुन् । 



सुनसरी‚ सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको मुख्य बासस्थानका रुपमा रहेको कोशीका लागि गैंडा नौलो जन्तु हो ।


कोशीबाट विगतमा १३ वटा अर्ना चितवन लगिएको थियो । त्यसबेला अर्ना लगे जसरी चितवनबाट गैंडा ल्याउनुपर्ने माग कोशी टप्पुबाट आएको थियो । चितवन निकुञ्जले अर्ना भने बचाउन सकेन ।