इटहरी । आसन्न उवासंघ इटहरीको चुनावी सरगर्मी बढेको छ । अध्यक्षका मुख्य तीन दावेदारहरुमध्ये दुई बिच सहमती भएसँगै अब चुनाव दुई पक्षीय हुने दिशातिर अघि बढेको छ ।
गायत्री कटुवाल भण्डारी, नवराज काफ्ले र बलबहादुर न्यौपानेमध्ये काफ्ले र न्यौपानेले मिलेर जाने सहमती गरेका हुन् । काफ्लेलाई अध्यक्ष र न्यौपानेलाई वरिष्ठ उपाध्यक्ष दिने गरी सहमती भएको सदस्य ढुण्डीराज गुरागाईले जानकारी दिए ।
अहिलेको बजार र व्यवशायीबिचको एकताका लागि मिलेर जाने सहमती गरेको नवराज काफ्लेले पुष्टि गरेका छन् । सहमती गरेर एक भएर जाँदा सबै व्यवशायीलाई राम्रो हुने भएकोले आफुहरु मिलेको काफ्ले र न्यौपानेले बताएका छन् । व्यवशायीहरुमा व्यवशायीक गतिविधि सुस्ताका कारण निराशा छाएका बेलामा मिलेर अघि बढ्दा सकारात्मक सन्देश जाने उनीहरुको भनाई छ । काफ्लेका अनुसार भण्डारीलाई पनि सहमतीमा ल्याउने कोसिस भइरहेको छ ।
व्यवशायीहरुको चुनाव भएपनि संघको चुनावमा राजनीतिक दलको आधारमा प्यानल बन्ने गरेको थियो । यो पटक पनि काफ्ले नेपाली काँग्रेस र न्यौपाने एमाले प्यानलको नेतृत्वको तयारीमा थिए । भीडेर भन्दा मिलेर जाने गरी उनीहरुले सहमती गरेका हुन् । भण्डारीपनि काँग्रेस सम्बद्ध हुन् । तर उनी अघिल्लो पटक पनि टिकट नपाएपछि स्वतन्त्र रुपमा उठेकी थिइन् भने यो पटक पनि भण्डारी अध्यक्षका लागि दोस्रो पटक चुनावी मैदानमा छिन् ।
भण्डारीले आफु अध्यक्ष हुने भए मात्रै सहमती गर्ने, नभए भीड्ने अडान दोहोर्याएकी छिन् । अघिल्लो पटक पनि अध्यक्षमा उठेर पराजित भएकी भण्डारीले भने यो पटक चुनाव जित्ने विश्वास व्यक्त गरेकी छिन् ।
उनले आफु पदको लागि नभइ नेतृत्वको लागि अघि सरेको बताउँदै इटहरीको संघमा पहिलो पटक महिला नेतृत्वले जितेर इतिहास राख्ने बताइन् । उनले अहिलेसम्म कुनै अध्यक्षका उम्मेदवारले हारेपछि दोहोर्याएर उठ्ने हिम्मत नगरेकोमा आफुले त्यो हिम्मत गरेको बताउँदै भनिन्, ‘महिलालाई नेतृत्वबाट वन्चित गराउन दुई वटा समुह एक भएको छ, सबै लागेका छन्, यसले मलाई झन् दह्रो बनाएको छ ।’ उनले आफूले ८० प्रतिशत प्यानल बनाइसकेपनि अझैपनि सहमतीको विकल्प खुलै राखेको बताउँदै अध्यक्ष भने नछाड्ने अडान दोहोर्याइन् ।
संघको निर्वाचन आगामी असार २७ गते हुने भएको छ । निर्वाचन समितिका संयोजक टंक दुलालका अनुसार यसपटकको निर्वाचन उद्योग वाणिज्य संघकै भवनमा सम्पन्न हुनेछ । यसपटक २,३६९ मतदाताले मतदान गर्ने समितिले जनाएको छ ।
उम्मेदवार मनोनयन फाराम वितरण असार ९ गते र मनोनयन दर्ता असार ११ गते हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली असार २१ गते प्रकाशन गरिनेछ ।