पार्टीको कार्यक्रममा प्र.अ. को भाषणः स्वर्ग जाने भए रुखमा भोट हालौँ’

न्युजलय १३ चैत २०७८, आइतबार ०७:१५ मा प्रकाशित

इटहरी । सरकारी विद्यालय र त्यहा काम गर्ने शिक्षकले पार्टी कार्यकर्ता भन्दा माथि उठ्नुपर्छ भनिन्छ । तर शिक्षकहरू खुलेआम राजनीतिमा सक्रिय छन् ।

अझ विद्यालयका शिक्षकको ‘कमाण्ड’ सम्हालेकाले अर्थात् प्रधानध्यापकले त सबैसँग वैचारिक र व्यवहारीक सम्बन्ध विस्तार गर्नुपर्ने हो । तर शनिबार सुनसरीको लौकहीमा आयोजित यौटा कार्यक्रममा एक जना प्रधानाध्यापकले नेपाली कांग्रेसको पक्षमा भ्रामात्मक प्रचार गरेका छन् ।

लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको ‘घर–घर जाउँ काँग्रेस जिताउँ अभियान तथा एक दिने अभिमुखिकरण कार्यक्रम’ मा जनता माध्यमिक विद्यालय मधुवनका प्रधानाध्यापक गंगाप्रसाद यादवले खुलेरै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन भोट मागे । 

उनले काँग्रेस बाहेक अन्यलाई भोट दिए ‘जन्नत’ अर्थात् स्वर्गमा पनि दुःख पाउने बताए । ‘हामी आउने दिनमा जातपातमा होइन, रुख छापमा भोट दिन्छौँ र रुख छापमा भोट दिनुपर्छ अन्यथा मरिसकेपछि पनि मुसलमानको भासामा जन्नत भन्छ हामी हिन्दुको भाषामा स्वर्ग भन्छ, हामीले यहाँ गद्दार गर्यो भने त्यहाँ ठाउँ भेट्न गाह्रो हुन्छ’, उनले भने । 

उनले व्यक्ति छन्ने भन्दा पार्टी छानेर रुखमा नै भोट हाल्न अपिल गरे ।