काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आफ्नो नियमित कामलाई अनलाइन प्रणालीमा लागे भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीको धेरैजसो कामहरु अब अनलाइनबाटै हुनेछन् ।
अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन ।
पनिकाअन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पुर्याउनको लागि हुलाकसँग समन्वय भइरहेको छ ।
विश्वविद्यालय सुधारको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा विद्यार्थीहरु १८ दिनदेखि धर्नामा छन् । विश्वविद्यालयबाट प्रदान गरिने सेवालाई डिजिटलाइजेसन गर्नुपर्ने, सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने तथा संरचनागत सुधारको माग गर्दै आन्दोलन भइरहेको हो ।