इटहरी । नेपालको संविधान २०७२ को परिकल्पना अनुसार नेपालमा संघियाता लागू भयो । फलस्वरुप नेपालमा तीन तहको सरकार बन्यो ।
स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार संविधानको परिकल्पना अनुसार लागू भयो । यहि संविधान जारी भएपछि १४ अञ्चल, ५ विकास क्षेत्र र ७५ जिल्ला भएको नेपालमा ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तह कायम भयो ।
सोहि अनुरुप सरकारले २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो । तीन चरणमा गरेर ७ सय ५३ वटै स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिए । सुनसरीमा पनि दोस्रो चरणमा निर्वाचन भयो । यहाँका १२ वटै स्थानीय तहले प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित अन्य जनप्रतिनिधि पनि पयो ।
सुनसरीको रामधुनी नगरपालिकामा २०७४ सालको निर्वाचनमा दश जनाले प्रमुख पदमा उमेदवारी दिएका थिए । सो निर्वाचनमा नेपाली काँग्रेसले रामधुनीको बागडोर सम्हाल्ने मत पयो ।
काँग्रेसका जयप्रकाश चौधरी रामधुनीको प्रमुख अर्थात् मेयरमा विजयी भए । यो निर्वाचनमा काँग्रेसका चौधरीसहित नेकपा एमालेका नन्दकुमार बस्नेत, नेकपा (माओवादी केन्द्र) का दिनेश कुमार चौधरी, मधेसी जनाधिकार फोरमका केदार प्रसाद गेलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल बहादुर कार्की, संघिय समाजवादी फोरमका रामबहादुर खड्का र स्वतन्त्र रुपमा डिल्लीबहादुर खानल खत्री, राजनकुमार गौतम, सूर्यप्रसाद दाहाल र मनराज दाहालले नगर–प्रमुख (मेयर)मा उमेदवारी दिएका थिए ।
निर्वाचनमा काँग्रेसका जयप्रकाश चौधरीले नौ हजार ७ सय ६ मत ल्याएर नगर प्रमुखमा बाजि मारेका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नन्दकुमार बस्नेतले आठ हजार आठ सय ५० मत मात्रै ल्याए ।
त्यसपछि क्रमशः माओवादी केन्द्रका दिनशकुमार चौधरीले एक हजार तीन सय ६५, मधेसी जनाधिकार फोरमका केदार प्रसाद गेलालले तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल बहादुर कार्कीले एक सय ८१, संघिय समाजवादी फोरमका रामबहादुर खड्काले एक सय ५५, स्वतन्त्र उमेदवार डिल्लीबहादुर खानल खत्रीले ११ र राजनकुमार गौतमले ८ मत ल्याए । यस्तै स्वतन्त्र रुपमा नै उमेदवारी दिएका सूर्यप्रसाद दाहाल र मनराज दाहालले भने एक मत पनि ल्याएनन् ।