न्याय पाउन ढिलाइ भएपछि निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाह प्रयास

न्युजलय २७ साउन २०७९, शुक्रबार ११:२४ मा प्रकाशित

काठमाडौं । जबरजस्ती करणी मुद्दामा न्याय माग्दै लामो समय अनसन बसेकी निहारिका राजपूतले आत्मदाह प्रयास गरेकी छिन् । उनले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी हुन् । शुक्रबार दिउँसो उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेकी थिइन् । योजनाबारे पुर्व सुचना पाएको प्रहरीले उनलाई रोकेर नियन्त्रणमा लिएको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह (निहारिका) ले केही समयअघि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनशन तोडेकी थिइन् । तर सहमतिअनुसार न्यायिक प्रक्रिया अघि नबढेको बताउँदै २० साउनदेखि पुनः अनशन बसेकी उनले आफैलाई जलाउने प्रयास गरेकी हुन् । शुक्रबार भने उनी आफ्नो छोरालाई सहयोगीको जिम्मा लगाएर एक लिटर पेट्रोल र लाइटर किनी शीतल निवास पुगेकी थिइन् । 

आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने राजपूत आफूमाथि शिवराम श्रेष्ठले बलात्कार गरेको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने, आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा गत असारमा अनशन बसेकी थिइन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको निष्कर्ष निकाल्दै आरोपीलाई सफाइ दिएको थियो ।

उनले २०७८ फागुन १२ गते जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकोमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।