खोटाङको एक वडा कार्यालय र विद्यालयमा तोडफोड

न्युजलय १४ माघ २०७८, शुक्रबार १०:२१ मा प्रकाशित

 खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ ।

बिहीबार राति वडा कार्यालय ऐँसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ ।

क्षतिको बारेमा अनुसन्धान भइरहेको बताइएको छ । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।