खोटाङ । खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो ।
बुधबार राती घरमा आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो राति नै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट इन्द्रबहादुर भुजेलको ढुङ्गा माटोले बनेको, जस्ताको छानो भएको २ तले घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्टहुँदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।