खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकमाथि दुर्व्यवहार गरेको छ ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई बुधबार(आज) सार्वजनिकस्थलमा कालो मोसो दल्दै जुत्ताको माला लगाइएको हो ।
राई लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको अनेरास्ववियु क्रान्तिकारीले आरोप लगाएको छ ।
सुध्रनका लागि पटक पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको क्रान्तीकारीले बताएको छ ।
अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङस्थित कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा दुर्व्यवहार गरेको हो ।
विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र सो जिम्मेवारीबाट हटाइएका थिए ।