इटहरीको कला, साहित्यको विकास गर्न उम्मेदवारहरु प्रतिबद्ध

न्युजलय २६ बैशाख २०७९, सोमबार ०३:५६ मा प्रकाशित

इटहरी । इटहरी साहित्यिक समूह इटहरीले इटहरीका उम्मेदवारहरुसँग अन्तक्र्रिया गरेको छ ।  विभिन्न पार्टीबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुृखसँग कला, साहित्य र संस्कृतिको विकासका बारेमा अन्तक्र्रिया गरेको हो । 

इटहरीको सबैभन्दा पुरानो र क्रियाशील साहित्यिक समुहले एक अपिल जारी गर्दै त्यसमा आधारित भएर उम्मेद्वारहरुलाई आआफ्ना पार्टीका धारणाहरु सार्वजनिक गर्न आग्रह गरेको थियो । 

उक्त अपिल पत्रमा नगर पालिका परिसरमा रहेको पुस्तकालयलाई धरणीधर स्मृति पुस्तकालय नामाकरण गरिनुपर्ने, पुस्तकालय समृद्ध बनाउनु पर्ने माग गरिएको छ ।

यस्तै स्व. धरणीधर दाहालको पहल र प्रयत्नमा लक्जेम्बरका नागरिक जोन पोलले निर्माण गरिदिएको तीन तले भव्य सांस्कृतिक भवन अहिले इटहरी नपाले कार्यालयका रुपमा उपयोग गरिरहेकोले तला थपेर भए पनि जोनपोलको स्मृतिमा पनि केही भौतिक संरचना निर्माण गर्न माग गरेको छ ।

संस्थाका सभापति श्री प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले मेयर उम्मेदवार यामकुमार सुब्बा, नेपाली काँग्रेसकाका मेयर उम्मेदवार हेमकर्ण पौडेल, उपप्रमुखका उम्मेद्वार केशवकुमार बिस्ट र स्वतन्त्र तर्फका पदम अधिकारीले कला साहित्य र संस्कृतिको विकासमा आफूहरु सक्रिय रहने प्रतिबद्धता जाहेर गरेका थिए ।