शेर्पामाथिको पार्टी कारवाही रोक्न उपमहानगरपालिकामा जनजाति महासंघको ध्यानाकर्षण

न्युजलय ११ भदौ २०८०, सोमबार ११:०० मा प्रकाशित

इटहरी । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमाले स्थानीय नेता तथा कार्यपालिका सदस्य प्रमोद शेर्पाविरुद्ध एमाले वडा कमिटिले कारवाही सिफारिस गरेको छ । प्रदेश सचिवालय सदस्यसमेत रहेका शेर्पामाथि एमालेको कारवाही रोक्न यतिखेर जनजाति महासंघले उपमहानगपालिकालाई ध्याकर्षण गराएको छ ।


वडा नं. १६ स्थित सरस्वती जब्दी माविका व्यवस्थापन समितिसमेत रहेका शेर्पाले वडाको एमाले वडाध्यक्षलाई बाइपास गरेर विद्यालयको प्रधानाध्यापकमा काँग्रेस समर्थक शिक्षक नियुक्त गरेपछि वडा कमिटिले कारवाहीको सिफारिस गरेको थियो । 


महासंघ नगर कमिटिले विद्यालयमा हुने प्रधानाध्यापकको नियुक्ति राजनैतिक भागवण्डाको लागि नभई निष्पक्ष र प्रकृयागत रूपमा योग्यता र क्षमताको आधारमा हुनुपर्नेमा जोड दिएको छ । बिना गल्ती कसैको राजनैतिक चरित्र हत्याहुने किसिमले कारबाहीको लागि सिफारिस गर्ने कार्यको महासंघले भर्त्सना गरेको जनाउँदै निष्पक्ष छानविन गर्नका लागिसमेत महासंघले माग गरेको छ । 


महासंघ इटहरी नगर कमिटि अध्यक्ष चिरहाङ राईसहितको टोलीले मेयर हेमकर्ण पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।


यता शेर्पाले भने वडा कमिटि अध्यक्ष र वडाको अध्यक्षसमेत रहेका तेजनारायण चौधरीलाई आफूले प्रधानाध्यापक फेर्ने विषयमा जानकारी गराएपनि वेवास्ता गरेपछि आफू अघि बढेको प्रतिक्रिया दिएका छन् । 


शेर्पासँग किन सशंकीत छ एमाले ?

माओवादी छाडेर एमाले आएका नेताहरुमध्ये शेर्पा त्यस्ता भाग्यभानी नेता हुन्, जसले छोटो समयमा राम्रो स्पेस पाए । उनलाई अल्पसंख्यकतर्फबाट कार्यपालिका सदस्यमा उम्मेदवार बनाएर एमालेले जिताएर पठाएको हो । ‘बोल्न सक्ने क्षमताका शेर्पाले ड्यासिङ दिन्छन् भनेर हामीले नै जोड गरेर त्यहाँ पुर्याएका हौं,’ अर्का एक जना कार्यपालिका सदस्यले भने, ‘तर उनी एमालेसँगभन्दा मेयरसँग बढी नजिक भए ।’


शेर्पाले यसअघि पनि बारम्बार उपमहानगरपालिकामा पार्टीको हितविपरीत काम गर्दै आएको स्थानीय एमाले नेताहरुको आरोप छ । एमालेका वडाकमिटि पदाधिकारीहरुले आफ्नो भेलामा आलोचना नै गरेका थिए ।


पछिल्लो समय विद्यालयको प्रधानाध्यापक नै फेरिदिएपछि शेर्पा एमालेवृत्तमा थप आलोचित बनेका छन् भने उनीमाथि कारवाही गर्न एउटा समुहले दबाबसमेत दिइरहेको छ । तर पार्टीकै एउटा समुह भने उनलाई कारवाही गर्न नहुने पक्षमा उभिएपनि पार्टी कमिटिका एक सदस्यले जानकारी दिएका छन् । 


‘सबै वडा कमिटिले वहाँको गतिविधि नजिकबाट नियालिरहेको छ,’ ती नेताले भने, ‘चुनावमा त अन्तरघात भयो भयो, अहिले पनि अन्तरघात भइरहेको छ, यस्तो प्रवृत्ती रोकिनुपर्छ ।’