कार्तिक २४ देखि हतुवागढीमा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता

न्युजलय १६ कार्तिक २०८०, बिहिबार ०८:०९ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।


श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । 


प्रतियोगिता यही कार्तिक २४ गतेदेखि हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका प्रत्येक वडाहरुबाट सम्बन्धित खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।


हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो । 


खेलमा सहभागिताको लागि प्रत्येक समूहमा ११ जना खेलाडी हुनुपर्नेछ । खेलाडीले अनिवार्य रुपमा सम्बन्धित वडाको परिचय खुल्ने कागजात पेश गर्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ । नकआउट को आधारमा हुने यस प्रतियोगितामा कुनै एक वडाबाट बढीमा २ टीम सहभागी हुन पाउने छन् । 

खेलमा सहभागिताको लागि प्रत्येक वडाकार्यलय, खेलकुद विकास समितिहरुमा पत्राचार गर्ने कार्य सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद रु. ३५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप–विजेताले नगद रु. २० हजार पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।