काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे लगत्तै देश दौडाहा सुरु गरेका छन् । रविले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय दल बन्नका लागि समानुपातिकमा कम्तीमा ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा एक सिट अनिवार्य जित्नुपर्छ ।
समानुपातिकमा ३ प्रतिशत वा सोभन्दा बढी भोट आएर प्रत्यक्षमा एक सिट पनि नजित्दा, समानुपातिकतर्फ सिट प्राप्त गर्ने ढोका त खुल्छ, तर राष्ट्रिय पार्टी बन्ने मौका गुम्छ ।
त्यसैले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्न पनि रविमाथि कम्तीमा आफूले चुनाव जित्नुपर्ने दवाव छ ।
रवि भने जहाँबाट उठ्दा पनि जित्न सक्ने आत्मविश्वास सो पार्टीभित्र बढ्दो छ । उनले एक सिट प्रत्यक्षमा जिते भने राष्ट्रिय पार्टी बन्ने ढोका खुल्न सक्छ ।
निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै गए पनि रविले कहाँबाट लड्ने भन्ने निधो गरिसकेका छैनन् । पार्टी स्रोतका अनुसार उनको सबैभन्दा पहिलो प्राथमिकता भने चितवन हो । त्यसमा पनि चितवन–३, जहाँबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् ।
रविको मतदाता नामावली काठमाडौंको ३ नम्बर क्षेत्रमा छ । उनले सुरुमा यही आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने मनसाय बनाएका थिए । तर, आफ्नै दाजु हरिशरण लामिछानेले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि उनी पछि सरे ।