इटहरी । इटहरीमा देखिँदै आएको ट्राफिक समस्या समाधानका लागि नागरिक समाज इटहरीले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । समाज र प्रहरीबिच सहकार्य गर्नेबारे समेत छलफल भएको छ ।
कार्यालयमा नयाँ आएका एसपी विनोद घिमिरे र डीएसपी रामेश्वर त्वातीलाई स्वागत गर्दै नागरिक समाज इटहरीका अध्यक्ष आरके राईले इटहरीलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने धारणा राखेका थिए । इटहरी चोकको ट्राफिक लाइट, डिभाइडरहरु, सवारी चालकमा ट्राफिक सचेतना, ज्येष्ठ नागरिकलाई दिनुपर्ने छुट र सहुलियत लागु गराउने विषयमा छलफल भएको थियो ।
छलफलमा प्रहरीले सडकका डिभाइडर स्थानीयले मनपरी खोल्दा इटहरी चोक अस्तव्यस्त हुने गरेकोले समाधान गर्न सबैको सहकार्य आवश्यक रहेको जनाएको थियो । इटहरी चोकदेखि कम्तिमा डेढ किलोमिटर क्षेत्रभित्र डिभाइडर खोल्न नहुने ट्राफिकको भनाई छ । तर अहिले डिभाइर राखिएको धरान रोडभित्र दर्जन बढी ठाउँमा डिभाइडर खोलिएको छ ।
यस्तै ट्राफिक नियमबारे जानकारी दिनसमेत आवश्यक रहेको बताउँदै सबैको सहकार्यमा मात्र यातायातलाई व्यवस्थित बनाउन सकिने घिमिरेले धारणा राखेका थिए ।
समाजले इटहरीको शान्ती सुरक्षाको विषयमा हिजो मात्र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीसँगसमेत छलफल गरेको थियो ।
छलफलमा नागरिक समाज इटहरीका अध्यक्ष आरके राई, सचिव सुरेन्द्र तामाङ, पुर्व अध्यक्ष जगदीश वली, कमलेश शर्मा पौडेल र दानियल सुब्बाले आफ्नो धारणा राखेका थिए ।