सप्तरी । सप्तरीमा एक दलित युवकको हत्या भएको छ । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा स्थानीय २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको स्थानीयको आरोप छ ।
आसन्न स्थानीय निर्वाचन नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानलाई मनोनयन दर्ता सघाएको भन्दै सन्तलालमाथि आक्रमण र उनको उपचारका क्रमका क्रममा मृत्यु भएको दलित अगुवा राजदेव रामको आरोप छ ।
आक्रमणबाट गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबल अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
पीडित परिवारले सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोराको संलग्नता रहेको आरोप लगाएको छ । पीडित परिवारले वडाध्यक्ष चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलीप चौधरीलगायतको संलग्नता रहेको भन्दै कारबाहीको माग गरेको छ ।
उनको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका थिए । अहिले भने राजमार्गको अवरोध खुलाइएको छ ।