धरान । बैठकहरुमा सधैं शान्त रहने धरानका उपमेयर अइन्द्रबिक्रम बेघा आइतबारको कार्यपालिका बैठकमा भने जंगिए । उनी जंगीनुको कारण थियो, मेयर हर्क साम्पाङले शेयर गरेको एउटा भिडियो कन्टेन्ट । जसमा उपमेयर बेघाको मन पहिलेदेखि नै विषालु भनेर उल्लेख गरिएको थियो । एक युट्युब च्यानलले गरेको उक्त पोस्टलाई मेयर राईले शेयर गरेका थिए ।
कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडियोबारे कुरा उठाए । बेघाले आफुले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अठ्याएको आरोप लगाए । उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे ।
‘तपाईले खेलाँची गरेको हो ? किन शेयर गर्नुभो ?’ उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईलाई काँधमा आँखा चिम्लेर बोकेर हिडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस् ।’
उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईले बनाएको हो ? कानुन बाहिरको तपाईको आदेश मान्दिनँ ।’ उनले स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार माग गरेका थिए ।
जवाफमा मेयर साम्पाङले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए । साथै उनले आफूले भिडियो शेयर गर्नुको कारण पनि बताएका थिए । खासमा फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए । मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए । ‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईले त्यसरी माग्ने होइन,’ मेयर राईले भने ।
उपमेयर रिसाउने, वडाध्यक्षले फकाउने
बैठकमा वडाअध्यक्षहरुले पनि धारणा राखेका थिए । उनीहरुले धरानको कार्यपालिका बैठकको झगडा र विवादले बेइज्जत भइरहेको पनि बताएका थिए । उनीहरुले मेयर उपमेयरसँगै कार्यपालिकाका सबै जना मिलेर अघि बढ्न र अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
केही समयअघिसम्म मेयर र वडाध्यक्षहरुबिच चर्काचर्की हुँदा उपमेयर बेघाले बिचमा बसेर मिल्न आग्रह गर्थे । तर आइतबार भने वडाध्यक्षहरुले मेयर उपमेयरलाई नै मिलेर अघि बढ्न आग्रह गरेका थिए ।
धरानका वडाध्यक्ष मनोज भट्टराईले जनप्रतिनिधिका कारण धरान बद्नाम भएको बताए ।
‘१८ महिना उपमेयरले हाँसेरै सहेँ भन्नुभो । हामी वडाध्यक्षहरु एकातिर लागेर संघर्ष गर्यौं,’ उनले धरानका जनप्रतिनिधि भनेर देश विदेशमा चिन्ने गरेको बताउँदै भने, ‘तर कसरी चिन्छन् भन्ने कुरा मुख्य हो । धरानबाहिर नाटकी शहरको रुपमा चिन्छन् ।'
बाझाबाझ भएपछि बिहान ८ बजेको बैठक दिउँसो २ बजे बैठक पुनः बस्ने गरि स्थगित गरिएको थियो ।