वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा पैदलयात्रुको मृत्यु

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०४:४० मा प्रकाशित

उदयपुर  ।  वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ । 

बुधबार बेलुका त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष ४० वर्षीय निर्मलकुमार चौधरीले चलाएको स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय रामचन्द्र चौधरीको मृतयु भएको हो ।  

सदरमुकाम गाईघाटबाट घरतर्फ जाने क्रममा गाईघाट–कदमाह सडकखण्डको त्रियुगा नपा ६ कुमारीचौकमा दुर्घटना हुँदा चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटना लगत्तै स्थानीयको सहयोगमा उपचारका लागि बिराटनगर लैजानेक्रममा चौधरीको बाटोमा नै ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वडाध्यक्ष चौधरीलाई उपचारका लागि विराटनगर लगिएको छ ।