दिल्लीको एक अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु

न्युजलय १३ जेठ २०८१, आइतबार ०८:३४ मा प्रकाशित

काठमाडौँ । दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेकी छन् ।

अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।