सुनसरी । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन भगवान विष्णुका १० अवतारमध्ये एक पुरुषोत्तम रामको जन्म भएको अवसरमा आज रामको पूजा अर्चना गरी देशैभरका राम मन्दिरहरुमा रामनवमी मनाइएको छ ।
पूर्वकै धार्मीक प्रर्यटकीय स्थल रामधुनी मन्दिरमा पनि रामको पूजा अर्चना गरी रामनवमी मनाइएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्लि कार्कीले बताए । उनले ५० हजार भन्दा बढी भक्तजनहरु दर्शन गर्न आएको बताए ।
रामधुनी मन्दिर आफ्नै किसीमको महत्व र अस्तित्व बोकेको एउटा धार्मीक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित रहेको छ ।
हिन्दु धर्मावलम्वीहरुको पौराणिक भनाई अनुसार त्रेता युगमा श्री रामचन्द्र यस तपोबनको पूण्यस्थलमा बनबासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिड्दा आफ्ना पाऊका एक जोर खराऊ छाडी गएको भन्ने कथन छ ।
सुनसरीको उत्तरी साबिकका गाविसहरु सिंगिया, प्रकाशपुर, महेन्द्रनगर, डुम्रहा र भोक्रहा गाविसको सीमा जङ्गलको बिच भागमा मन्दिर अवस्थित रहेको छ ।
‘रामको पाऊ स्पर्श भएको यस भूमिमा आफ्नो योग ध्यानलाई पूर्ण गर्न तपमा बसेका बाबा बन्स्खण्डी नाम गरेका योगीले रामचन्द्रले जगाएको अग्निलाई निभ्न नदिईकन धुनी जगाएर त्यसबाट आएको खरानी (विगुत) मन्दिर दर्शनमा आउँने दर्शानार्थीहरुलाई प्रशादको रुपमा दिने प्रचलनको प्रारम्भ बाबा बन्स्खण्डीबाटै सुरु गरिएको भन्ने विश्वास कायम रहि आएको मन्दिरका महन्त कासीदास उदासीले बताए ।
रामनवमी, विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्री, तीज आदि जस्ता पर्वहरुमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको पाइन्छ । प्रशस्तै धार्मीक पर्यटनको महत्व बोकेको मन्दिरमा सरोकारवालाहरुको चासो बढेसँगै ओझेलमा परेको मन्दिरको मुहार फेरिदै गएको छ ।