काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम–२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ ।
आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराएको छ ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ ।