काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो ।
शनिबार चलचित्रको हिन्दी र नेपाली दुवै संस्करणको टिजर सार्वजनिक गरिएको थियो । दुवै टिजरले यतिबेला राम्रो भ्युजसँगै चर्चा पाइरहेका छन् ।
दर्शकहरूले नेपालीभन्दा हिन्दी संस्करणको टिजरलाई अझ बढी रुचाएको प्रतिक्रिया दिएका छन् । साउथका प्रायः सुपर स्टारको चलचित्रको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो ।
हिन्दी संस्करणको टिजरमा डबिङ आर्टिस्टको डाइलग डेलिभरी र आवाज सुनेपछि दर्शकहरूले त्यसलाई अझ राम्रो प्रतिक्रिया दिएका हुन् । धेरै नेपाली दर्शकले चलचित्रको नेपाली भर्सनभन्दा हिन्दी डब हेर्न बढी रुचि रहेको प्रतिक्रिया समेत दिएका छन् ।
दर्शकहरूले हिन्दी टिजर बढी रुचाएको पाएसँगै नेपालमा हिन्दी डब समेत प्रदर्शनमा आउने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले भारतसँगै नेपालमा पनि चलचित्रको हिन्दी डब प्रदर्शन गरिने लोकान्तलाई बताए ।
निर्माता एवं निर्देशक सेन दर्शकहरूले हिन्दी भर्सनको टिजर बढी मन पराउनुको कारण डबिङ आर्टिस्टको आवाज सुनिरहेको भएर हुन सक्ने बताउँछन् । यद्यपि चलचित्र हेर्दा भने नेपाली भर्सन पनि उत्तिकै मनपर्ने बताए । उनले चलचित्रको नेपाली र हिन्दी दुवै भर्सन दर्शकका लागि विशेष हुने बताउँछन् ।
उनी भारतमा चलचित्रको टिजरलाई मिलेको प्रतिक्रियाबाट एकदमै उत्साहित रहेको बताउँछन् । स्व.छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका छ । साथमा शिवश्रेष्ठ, पुष्कर कार्की, सुनिलथापा, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, अनुभव रेग्मी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ ।
कमेडी, एक्सन र लभको सम्मिश्रण चलचित्रमा रहेको सेन बताउँछन् ।
राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रलाई सञ्जय संक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रमा स्व। छेतन गुरुङ र मन्दिप गौतमको लेखन छ ।