इटहरीमा पहिलो पटक डोरीतान प्रतियोगिता

न्युजलय ३ चैत २०७८, बिहिबार ०३:२२ मा प्रकाशित

इटहरी । इटहरीमा पहिलो पटक आयोजना गरिएको प्रथम मेयरकप डोरीतान प्रतियोगिताको उपाधि बुढीगंगा गाउँपालिकाले जितेको छ । यस्तै मिक्लाजुङ गाउँपालिका उपविजेता बनेको छ । दुवैले शिल्ड, प्रमाणपत्रका साथै नगद क्रमशः ४० हजार र २० हजार रुपैया पाएका छन् ।

युवाहरूलाई खेलकुदमार्फत् सक्रिय बनाउनका साथै अनुशासित, मर्यादित बनउनको लागि इटहरीमै पहिलो पटक इटहरी प्रथम मेयर कप डोरीतान प्रतियोगिता २०७८ गरिएको हो । 

जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो । जसमा इटहरी, रामधुनि, दुहबी, बुढिगंगा, बेलवारी, मिक्लाजुङ्ग र नेपाल आर्मी तथा सशस्त्र प्रहरी बलको सहभागिता रहेको प्रथम इटहरी मेयरकप डोरीतान प्रतियोगिताका संयोजक तथा डोरीतानका अन्तराष्ट्रिय खेलाडी अशोक कुमार चाैधरीले जानकारी दिए । 

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपाल डोरीतान सघं केन्द्रीय उपाध्यक्ष तथा टग अफ वार एसिया फेडेरेशन सदस्य डा. सुवास श्री पोखरेल, नेपाल डोरीतान संघ केन्द्रीय सदस्य सत्यनारायण चौधरी, प्रदेश नं१ डोरीतान सघंकी अध्यक्ष रिता न्यौपाने, ने क पा एमाले इटहरी सह इन्चार्ज बन्नुलाल चौधरी, वडा नं ५ का अध्यक्ष कल्याणबहादुर कार्कीलगायतको उपस्थिती थियो ।