सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

न्युजलय १० भदौ २०८०, आइतबार ०८:२१ मा प्रकाशित

  उदयपुर । उदयपुर जिल्ला अदालतबाट दोषी ठहर भै सजाय तोकिएका तर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालत समक्ष बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत भदौ ९ गते राती चौदण्डीगढी नगरपालिका –१० देवधार गाउँमा बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा उदयपुर जिल्ला अदालतले २०७५ असार १२ गते दोषी ठहर गरी ११ महिना १० दिन सजाय र रु ५० जरिवाना हुने फैसला गरेको थियो ।

फरार अवस्थामा रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी निरीक्षकको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले खोजतलास गर्दै जाँदा चौदण्डीनगरपालिका वडा नं ६ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएर आवश्यक अनुसन्धान तथा सोधपुछ पश्चात सम्मानित अदालतको फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।