काठमाडौं । दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरी व्यवसायीहरुले चीनबाट ल्याउँदै गरेको कन्टेनर रोकिएको छ । कोभिड–१९ महामारीको कारण देखाएर नेपाल–चीन स्थलमार्गको रसुवागढी र तातोपानी दुवै नाका एकाएक बन्द भएपछि गाडीहरु बिच बाटोमै अड्किएका हुन् ।
२५ साउनदेखि रोकिएका गाडीहरु कहिले चल्ने हुन् टुंगो छैन । सरासर नेपालतर्फ आउन पाएको भए कम्तीमा १५ दिनमा नेपाल छिर्ने सामान अड्किएपछि व्यवशायीहरु समस्यामा परेका छन् ।
पहिलो पटक तीन दिनका लागि भनेर गरिएको लकडाउन विस्तारै लम्ब्याउँदै लगिएको हो । सरकारले पहल नगरे चीनबाट ल्याउन लागिएका फलफूल तथा खाद्यान्नहरु भने बिग्रने चिन्ता बढेको छ ।
नाका नखुलेमा रिरुट गरेर पानी जहाजमा ल्याउन सकिन्छ । तर त्यसो गर्दा ५५ दिन लाग्छ, जसले गर्दा दशैं–तिहार पछि मात्रै सामान आइपुग्छ ।
नेपाल हिमालयन सीमापार व्यापार संघकाअनुसार चीनतर्फ अहिले एकदेखि सवा अर्ब रुपैयाँ बराबरको दशैंका माल वस्तु लोड भएको कन्टेनर रोकिएका छन् । व्यवसायीहरुबाट लगत संकलन भइरहेका कारण अहिले करिब १५० हाराहारी कन्टेनर रोकिएको जानकारी आएको छ ।